हिरोसिमा हानेका बेला…(नागरिक न्यूज़)

विद्या चापागाई/ओमआस्था राई- काठमाडौं- ‘थाहे गता किओ थाहे,’ सम्राट सोवा थेन्वो हिरोहितोको स्वर पहिलोपटक जापानी जनताले रेडियोमा सुने। युद्धले थाकेका हिरोहितो भन्दै थिए, ‘हामीले युद्ध हार्‍यौं। अबका दिन सहज हुने छैन। तर, हामी सहन बाध्य छौं।’

Mrs.Kiyoko Oguri

Mrs.Kiyoko Oguri

ठिक ६४ वर्षअघि। आजकै दिन। अर्थात्, सन १९४५, अगस्ट १५।अमेरिकाले खसालेको परमाणु बमबाट हिरोसिमा र नागासाकी सहर पुरै ध्वस्त भएपछि जापानसँग आत्मसमर्पण गर्नुको विकल्प थिएन। रसिया र चीनजस्ता बलिया राष्ट्रलाई हराएको अभिमान परमाणु प्रहारसँगै खरानी भइसकेको थियो।
जापानी इतिहासमै सबभन्दा लामो शासन गरेका हिरोहितोले दिउँसो ठिक १२ बजे देशबासीका नाममा सम्बोधन गरे, ‘यो समयको माग हो, हाम्रो नियति हो।’ यो युद्ध सकिएको घोषणा थियो, तैपनि जापानी जनता स्तब्ध थिए। अमेरिका, बेलायत र चीनका अगाडि घुँडा टेक्दा जापानको आत्मसम्मान चोइटेको थियो।
जापानी जनताले ‘भगवान’ मानेका हिरोहितोको सार्वजनिक स्वर कहिल्यै सुनेका थिएनन्। जतिखेर सुने, अप्रिय खबरले उनीहरूलाई बिथोल्यो। ‘पोत्सडाम सम्झौता’मा सही नगरे पुरै देशलाई हिरोसिमा र नागासाकीको हालतमा पुर्‍याउने गठबन्धन शक्तिको चेतावनीपछि आएको हिरोहितोको सम्बोधन सुन्दा कसैले शिर उठाउन सकेनन्।
सबै जापानी जनताले घुँडा टेकेर रेडियोमा सम्राट हिरोहितोलाई सुन्दै थिए। त्यही शोकमग्न समूहमा थिइन्, जापानी पत्रकार कियोको ओगुराकी हजुरआमा किमी। युद्धको क्रममा फिलिपिन्स पुगेका किमीका श्रीमान् थलिएर फर्केका थिए। रोगी श्रीमान्लाई स्याहार्दै बसेकी किमी त्यतिबेला ३७ वर्षकी थिइन्। हजुरआमासागै बाल्यकाल बिताएकी ओगुराका लागि युद्धको कथा सुनाउने पात्र यिनै थिइन्।
८३ वर्षसम्म हजुरआमा बाँच्दा ओगुराले सम्राटका भाषणदेखि जापानी नागरिकले युद्धबाट भोगेको पीडाका धेरै कथा सुन्न भ्याइसकेकी थिइन्- भग्नावशेष सहर, आफन्तको मृत्युको पीडा, घाइते अनुहार अनि युद्धको धङधङी कायमै थियो। युद्ध सकिएको झण्डै डेढ दशकपछि जन्मिएकी ओगुराले जतिपटक हजुरआमाको मुखबाट युद्धको कथा सुनिन्, त्यति नै पटक उनका लागि यो त्रासदीपूर्ण थियो।
ओगुरा यस्तो समयमा जन्मेकी थिइन्, जतिबेला जापानलाई दु्रत विकास गर्नु थियो। तीव्र आर्थिक विकासले युद्धको चोटमा मल्हम लाउनु थियो। ध्वस्त जापानको पुनर्निर्माण गर्ने जिम्मा ओगुराका बाबुआमाको पुस्ताको थियो। बाबु कोहेईसँग उनको खासै हिमचिम भएन। किनकि, बिहान सबेरै घरबाट निस्किने कोहेई बेलुकीमात्रै आइपुग्थे। जडीबुटी व्यापार गर्ने कोहेई कामभन्दा अर्थोक सोच्दैन थिए।
‘बुबाको पुस्ताले त्यति मेहनतका साथ काम नगरेको भए जापानले यति छिट्टै प्रग्ति गर्न सक्दैन थियो,’ ओगुरा भन्छिन्। त्यसबेला हरेक जापानी युवालाई युद्धमा जानुपर्ने बाध्यता थियो। कोहेईलाई ‘कामिकाजे’ बन्ने इच्छा थियो। अर्थात्, उनी विमान उडाएर दुश्मनका अखडामाथि आत्मघाती आक्रमण गर्न चाहन्थे। तर, उमेर नपुगेकाले उनको सपना पूरा भएन। यो सपना उनले ध्वस्त देशको पुनर्निर्माणमा लागेर पूरा गरे।
ओगुराको गाउँ तोचिगो टोक्योबाट नजिकै थियो। हिरोसिमा र नागासाकीको असर तोचिगीमा खासै परेन। तर, सहरकेन्दि्रत युद्धको त्रासले मानिसहरू गाउँ पसेका थिए। तोचिगीमा पनि टोक्योबाट थुप्रै मानिस आएका थिए। युद्ध सकिएपछि खाद्यान्नको समस्या भए। ‘मलाई अझै सम्झना छ,’ ओगुरा भन्छिन्, ‘दिनैपिच्छे हुलका हुल भोका मानिस खानेकुरा खोज्दै टोक्योबाट तोचिगो आउँथे। हामी बाँडीचुँडी खान्थ्यौं।’
ओगुराकी आमा हिदेको पनि खानेकुराकै खोजीमा तोचिगो आइपुगेकी थिइन्। यही उनका बा र आमा भेट भए। तोचिगोमा युद्ध नभए पनि सम्भावित हवाई आक्रमणबाट बच्न थुप्रै सुरुङ बनाइएका थिए। ‘घरवरपर थुप्रै सुरुङ थिए,’ उनी सम्झन्छिन्, ‘हामी त्यही सुरुङमा लुकामारी खेल्थ्यौं।’
२०४६ को जनआन्दोलनपछि ‘जनता जागेका बेला’ लेखेर चर्चामा आएकी ओगुराले माओवादी द्वन्द्वको रिपोर्टिङका लागि नेपालका थुप्रै गाउँ घुमिन्। त्यस क्रममा सबैले उनलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘कसरी हिरोसिमा र नागासाकी ध्वस्त भए ?’ उनी भन्छिन्, ‘अरू सहरबारे कोही सोध्दैन थिए।’
ओगुराको भनाइमा राजधानी टोक्योले पनि युद्धको मार खेपेको थियो। हिरोसिमा र नागासाकीमा बम खसालिएपछि पनि जापानका ६३ सहरमा आक्रमण भए। अगस्त ६ मा भएको हिरोसिमा आक्रमणमा करिब डेढ लाख र त्यसको तीन दिनपछि भएको नागासाकी आक्रमणमा ८० हजार मानिस मारिएका थिए।
युद्धपछिको जापानमा हुर्किएकी ओगुरा अहिले युद्धपछिको नेपालमा बसेर पत्रकारिता गर्दैछिन्। के नेपालले पनि युद्धपछिको जापानले जस्तै दु्रत विकास गर्ला ? ‘मलाई त्यस्तो लाग्दैन,’ उनी भन्छिन्, ‘युद्धपछि जापानी जनतामा ध्वस्त देश बनाउने साझा सपना थियो। यसैले, उनीहरूले दिन र रात नभनी काम गरे। नेपालमा हिंसात्मक द्वन्द्व सकियो। तर, अझै थुपैखाले द्वन्द्व बाँकी छन्।’

Source : नागरिक न्यूज़

Leave a Response