जापानमा कामदार पठाउन पहल गरिने (नागरिक न्यूज़)

काठमाडौं, कात्तिक ५ (नागरिक)-
जापानमा कामदार पठाउन पहल गरिने भएको छ। प्रशिक्षार्थी कामदार पठाइरहेको नेपालले कामदार पठाउन पहल गर्न लागेको हो। ’हामीले अहिले प्रशिक्षार्थी कामदार पठाइरहेका छौ,’ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम आचार्यले नागरिकसँग भने, ‘अब हामीले कामदार पठाउन पहल सुरु गर्नुपर्छ।’ प्रशिक्षार्थी कामदार पठाउने प्रक्रियालाई छिटो गर्न र कामदार पठाउन पहल गर्न श्रममन्त्री मोहम्मद अफताब आलमको नेतृत्वमा एक टोली विहिवार जापान जादैछ। उनका अनुसार पाँच दिनसम्मको जापान भ्रमणमा प्रशिक्षार्थी कामदार पठाउने प्रक्रियालाई छिटोछरितो बनाउने प्रमुख मुद्धा रहेको छ। जापानले विभिन्न मुलुकबाट प्रशिक्षार्थी कामदार लिदै आएको छ। जापानले इन्डोनेसिया र चीनबाट बढी प्रशिक्षार्थी कामदार लिने गरेको छ।
सन् २००३ बाट प्रशिक्षार्थी कामदार लिने भनेपनि अहिलेसम्म नेपालबाट ६ जना मात्र प्रशिक्षार्थी कामदार जापान गएका छन्। नेपाल उद्योग बाणिज्य महासंघले अहिलेसम्म ६ जना युवतीलाई प्रशिक्षार्थी कामदार पठाएको छ। आचार्यले प्रशिक्षार्थी कामदार पठाउन उच्चस्तरीय संयन्त्र बनाउने बारे छलफल हुने जानकारी दिए।
उनका अनुसार महासंघले पठाइरहेको कामदारलाई तीब्रता दिने र म्यानपावर कम्पनीले पठाउने कामदारको बारेमा छलफल हुनेछ। उनले यी सबै कामदार पठाउनको लागि उच्चस्तरीय संयन्त्रको खाँचो रहेको औल्याए। सरकारले प्रशिक्षार्थी कामदार पठाउन १ सय ७१ म्यानपावर एजेन्सी छनौट गरेको थियो।
म्यानपावर एजेन्सीले कामदार पठाउने प्रक्रिया सुस्त रहेको छ। ‘म्यानपावर एजेन्सीले कामदार पठाउने प्रक्रियाको बारेमा छलफल हुनेछ,’ सचिव आचार्यले भने, ‘ प्रक्रिया र निर्देशिका बनाउने बारे स्पस्ट हुनेछ।’ म्यानपावर एजेन्सीले कामदार कसरी पठाउने, कामदार भागेमा के हुने लगायतका बारेमा अहिलेसम्म स्पस्ट हुनसकेको छैन।
जिटोले १ सय ७२ म्यानपावर कम्पनीको नाम आफ्नो वेभसाईटमा सूचिकृत गरेको छ। जिटोले नेपालको म्यानपावरको नाम आफ्नो वेभसाईटमा राखेपछि औपचारिक रुपमा कामदार पठाउने बाटो खुलेको छ। ‘जिटो र वैदेशिक रोजगार नियमावलीको आधारमा निर्देशिका तयार हुनेछ। म्यानपावरले प्रशिक्षार्थी कामदार पठाउने बारेमा औपचारिक निर्णय गरेपनि भाषा , तालिमको बारेमा कुनै निश्चित मापदण्ड तोकेको छैन। जापानले विश्वका विभिन्न १२ मुलुकबाट प्रशिक्षार्थी कामदार लिइरहेको छ। औद्योगिक क्षेत्रमा कार्यरत मजदुरलाई तालिम दिएर सम्वन्धित मुलुक पठाउने गर्छ।
जापानको कुनै कम्पनीले प्रशिक्षार्थी कामदारको माग जिटोमा पठाउँछ। जिटो त्यो मागलाई श्रम मन्त्रालय र सम्वन्धित सूचिकृत म्यानपावरमा पठाउँछ। जिटोले पठाएको डिमान्डको आधारमा म्यानपावार कम्पनीले प्रशिक्षार्थी कामदार पठाउन पाउँछन्।
कामदार पठाइरहेका म्यानपावर एजेन्सीलाई औद्योगिक कामदार पठाउने कार्य जटिल हुनेछ। अदक्ष कामदार पठाउदै आएका म्यानपावर एजेन्सीले औद्योगिक क्षेत्रमा कार्यरत कामदार पठाउन कठिन हुनेछ। खाडी , मलेसिया र साउदी अरब पठाएको मात्र अनुभव म्यानपावर कम्पनीमा छ। जापानले सन् २००३मा नै नेपाललाई कामदार पठाउनको लागि आग्रह गरेको थियो। नेपाल सरकार र जापान सरकार विच कामदार पठाउने सहमति सगै श्रम मन्त्रालयले प्रशिक्षार्थी कामदार पठाउन नेपाल उद्योग बाणिज्य महासंघलाई छनौट गरेको थियो। महासंघले तीन महिना अघि मात्र ६ जना प्रशिक्षार्थी कामदार जापान पठाएको थियो। जापानले १९९८ देखी अल्पविकसित मुलुक सगँ कामदार लिन थालेको हो। जापान जान कामदारले कुनै शुल्क तिर्नुपदैन।
‘प्रशिक्षार्थी कामदारले तीन बर्षमा कुनै उद्योगमा रहेर तालिम लिनुपर्छ। तालिम अबधीमा कामदारलाई खान बस्न निशुल्क हुन्छ भने प्रशिक्षण अवधिमा उद्योगले भत्ता दिन्छ। व्यवसायीहरुका अनुसार पहिलो बर्ष कामदारले पहिलो वर्ष मासिक ५० हजारको हाराहारीमा पाउँछ। दोश्रो र तेश्रो बर्षमा कामदारले मासिक १ लाख भत्ता पाउनेछन्।
भ्रमणको क्रममा जापानका श्रममन्त्री, जिटो र जाइका अध्यक्ष सँग भेट गर्ने कार्यक्रम रहेको छ।

Source : नागरिक न्यूज़

Leave a Response