दुई वर्षभित्र जापानबाट नफर्किए कारबाही (नागरिक न्यूज़)
विज्ञान अधिकारी, काठमाडौं कात्तिक १६-
जापान जाने प्रशिक्षार्थी कामदारले दुई वर्षभित्र नेपाल नफर्किए कानुनी कारबाही हुने भएको छ।
सरकारले जापान जाने कामदारका लागि तयार पारेको निर्देशिकाको प्रारम्भिक मस्यौदामा कामदार नफर्किएमा वैदेशिक रोजगार ऐन अनुसार कानुनी कारबाही हुने उल्लेख छ। ‘तोकिएको समयमा कामदार नफर्किएमा वैदेशिक रोजगार ऐन अनुसार कानुनी कारबाही हुनेछ,’ मस्यौदामा भनिएको छ। मस्यौदामा जापानमा तालिम अवधि सकिएपछि नेपाल फर्किने प्रतिवद्धता पठाउने संस्थासँग गर्नुपर्ने उल्लेख छ। अहिले कामदारको रुपमा विदेश गएका धेरै नेपाली सम्बन्धित कम्पनीमा काम नगएर भाग्ने गरेकोले यस्तो प्रावधान राखिएको हो। जापानमा प्रशिक्षार्थीका रुपमा गएका कामदारले दुई वर्षसम्म कुनै कम्पनीमा रहेर तालिम लिनुपर्नेछ। तालिम अवधिमा कामदारलाई खान बस्न निशुल्क हुन्छ भने प्रशिक्षण अबधीमा उद्योगले भत्ता दिन्छ। व्यवसायीहरुका अनुसार पहिलो वर्ष कामदारले पहिलो वर्ष मासिक ५० हजारको हाराहामा पाउँछ। दोश्रो र तेश्रो वर्षमा कामदारले मासिक १ लाख भत्ता पाउनेछन्।
सरकारले प्रशिक्षार्थी कामदार पठाउन अनुमति पाएका १ सय ७१ म्यानपावर कम्पनी र नेपाल उद्योग वाणिज्य महासंघका लागि यो निर्देशिका तयार पारिएको हो। ‘अहिले मस्यौदा प्राम्भक रुपमा तयार पारेर सबैको सुझाव माग गरिएको छ,’ श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव बाबुराम अचार्यले नागरिकसँग भने, ‘बुधवार सम्म सबै सरोकारको सुझाव पछि मस्यौदालाई अन्तिम रुप दिइनेछ।’ उनका अनुसार सबैको सुझाव पछि मस्यौदालाई नेपाल स्थित जापानी दुतावास मार्फत जापान इन्टरनेसन ट्रेनिङ कोअपरेसन (जिटो)मा पठाइनेछ। यो निर्देशिका तयार भएपछि सरकारले छनौट गरेका म्यानपावरले औपचारिक रुपमा प्रशिक्षार्थी कामदार जापान पठाउन खुल्ला हुनेछ।
मस्यौदामा प्रशिक्षार्थी कामदार काम छोडी अन्यत्र गएमा त्यस्ता व्यक्तिलाई नेपाल फर्काउनका लागि आवश्यक सूचना वैदेशिक रोजगार विभागलाई दिनुपर्ने उल्लेख छ।
जापान कामदार पठाउने म्यानपावरले थप धरौटी राख्नुपर्ने प्रावधान मस्यौदामा रहेको छ। अहिले म्यानपावर एजेन्सीले वैदेशिक रोजगार विभागमा सात लाख नगद र २३ लाख जिन्सी धरौटी राख्नुपर्ने प्रावधान रहेको छ।
प्रशिक्षार्थी कामदारको रुपमा जापान जान कुनै पनि औद्योगिक प्रतिष्ठान, कलकारखाना, होटेल र कृषिमा दुई वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ। जिट्कोले औद्योगिक प्रशिक्षार्थी मात्र लिइरहेको छ। अहिलेसम्म जापानमा पूर्णकालिन कामदार गएका छैनन्। कृषि सम्वन्धी कामदारको हकमा कृषि तथा सहकामा काम गरेको अनुभव हुनुपर्ने मस्यौंदामा समेटिएको छ। जापान जानको लागि प्रशिक्षार्थी कामदारले न्यूनतम जापानी भाषा तथा संस्कृतिको बारेमा जानका राखेको हुनुपर्नेछ। छनौट भएका प्रशिक्षार्थीलाई जापानी भाषा, संस्कृति तथा नियम कानुनको जानका गराउन तोकिए बमोजिम रोजगार अनुमति स्टीकर सम्वन्धी प्रक्रिया अबलम्बन गर्नुपर्ने मस्यौंदामा रहेको छ। प्रशिक्षार्थी कामदारले अनिवार्य अभिमुखीकरण तालिम गर्नुपर्नेछ। मस्यौदामा जापान बसाई सहज बनाउन श्रम मन्त्रालयको स्वीकृतिमा सम्पर्क कार्यालय स्थापना गर्न पाउने उल्लेख छ। जापानमा रहेका कामदारको रेखदेख र तालिम सकिएपछि फर्काउन सम्पर्क व्यक्ति र कार्यालय स्थापना गर्न पाउने प्रावधान राखिने भएको छ। मस्यौंदामा कामदार पठाएको संख्या र उनीहरुले काम गर्ने स्थानका आधारमा प्रतिनिधि राख्न सकिने उल्लेख छ। प्रतिनिधिले सहजीकरण गर्ने, कुनै समस्या आएमा समाधान गर्ने, बजार प्रवर्द्धन गर्ने र तालिम सकेर फर्किएलाई फर्कन आवश्यक सहयोग गर्ने काम गर्नुपर्नेछ।
नेपालमा रहेका औद्योगिक प्रतिष्ठानले दुई वर्षदेखि कार्यरत कामदारलाई प्रशिक्षार्थीका रुपमा पठाउन सूचीकृत कम्पनीलाई सिफारिस गर्ने र तालिमपछि काम दिनुपर्ने प्रावधान समेत राखिएको छ। तालिम पछि कामदारलाई काम नदिएमा औद्योगिक प्रतिष्ठान जिम्मेवार रहने प्रावधान राखेको छ।
जापानमा रहेको नेपालको दुतावासले जिट्को र यस सँग सरोकार निकायसँग समन्वय गर्नुपर्ने मस्यौदामा रहेको छ। प्रशिक्षार्थी कामदार पठाउने कम्पनीले डिमान्ड प्रमाणित गर्नुपर्ने प्रावधान राखिने भएको छ। दुतावासले औद्योगिक प्रशिक्षार्थीको समय समयमा निक्षण गरेर परराष्ट्र र श्रम मन्त्रालयलाई प्रतिवदेन पठाउनुपर्ने कर्तव्य मस्यौंदामा तोकिएको छ। जिट्को अन्तर्गत कामदार पठाए वापत नेपाली म्यानपावरलाई दिएको कमिशन रकम पारदर्शी र करमा दाखिला हुनुपर्ने प्रावधान मस्यौंदामा राखिएको छ।
प्रशिक्षार्थी कामदार पठाउन व्यवस्थित र पारदर्शी बनाउन श्रममन्त्रीको संयोजकत्वमा उच्चस्तय समिति बनाउने मस्यौंदामा रहेको छ। समितिको सदस्यमा गृह, परराष्ट्र र उद्योग सचिव रहनेछन् भने सदस्य सचिव श्रम सचिव रहने मस्यौदामा रहेको छ।
जापानले इन्डोनेसिया र चीनबाट बढी प्रशिक्षार्थी कामदार लिने गरेको छ। सन् २००३ बाट प्रशिक्षार्थी कामदार लिने भनेपनि अहिलेसम्म नेपालबाट ६ जना मात्र प्रशिक्षार्थी कामदार जापान गएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले अहिलेसम्म ६ जना युवतीलाई प्रशिक्षार्थी कामदार पठाएको छ। जापानले विश्वका विभिन्न १२ मुलुकबाट प्रशिक्षार्थी कामदार लिइरहेको छ। औद्योगिक क्षेत्रमा कार्यरत मजदुरलाई तालिम दिएर सम्वन्धित मुलुक पठाउने गर्छ।
Source: नागरिक न्यूज़
