सडकको समस्या बुझ्न सडकमै (कान्तिपुर दैनिक)
भक्तपुर, पुस २४ -
अरनिको राजमार्गअन्तर्गत तीनकुने-सूर्यविनायक सडक विस्तारमा विभिन्न समस्या आएपछि सरोकारवाला निकायले शुक्रबार सडकको अवलोकन गरेका छन् ।
सडक मर्मतमा आठ महिना ढिलाइ भएपछि भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्ण कडरिया, सहसचिवहरू, जाइकाका प्रतिनिधि, सडक निर्माण जापानी ठेकेदार कम्पनी हाजमाका प्रतिनिधि, जापनिज दूतावासका प्रतिनिधि, सडक विभागका प्रतिनिधि, आयोजना प्रमुखलगायतले शुक्रबार सडक विस्तारमा देखिएको समस्या अवलोकन गरे ।
सडक विस्त्ाारमा देखिएको समस्या समाधान गर्न सम्बन्धित निकायले निर्देश्ान दिईसकेको भौतिक तथा निर्माण योजना मन्त्रालयका सचिव पूर्ण कडरियाले बताए । ‘हाम्रो कारण काममा ढिलाइ हुन्न दिन्नौं,’ उनले भने ।
समयमा काम नसकेपछि हाजमाले तीनजना प्रमुख फेरिसकेको छ । १५ दिनअघि आएका नयाँ प्रमुख छिटो काम सक्न लागिपरेका छन् । सडकमुनिको भूमिगत खानेपानीको पाइप, विद्युत् र टेलिफोनको तारले ढिलाइ भएको आयोजना प्रमुख सरोज प्रधानले जानकारी दिए ।
जडिबुटी र सूर्यविनायक चोकमा रहेको दुईवटा छाप्रो हटाउन पनि समस्या भएको उनले बताए । सरकारी जग्गामा घर बनाएकालाई समेत नियमअनुसार मुआब्ज्ाा दिँदा पनि अझै नहटेको उनले बताए । अवलोकनमा जानु पहिला मन्त्रालयमा सडक विस्तारमा देखिएको समस्या कसरी निराकरण गर्न सकिन्छ भन्ने छलफल भएको थियो ।
सडकको पहिलो चरण वैशाखमै सकिनुपर्नेमा अझै काम भइरहेको छ । सडक विस्तार आयोजनाका अनुसार माघ अन्तिमसम्म पहिलो चरणको -तीनकुने जडिबुटी) सम्म सकिने छ । पहिलो चरणमा ढिलाइ भए पनि दोस्रो चरणको जडिबुटी हनुमन्तेसम्मको काम पनि अन्तिम चरणमा पुगेको छ भने तेस्रो चरणको -हनुमन्ते सूर्यविनायक) पनि सुरु भइसकेको छ ।
तीन चरणको काम २०६७ चैतसम्म सक्ने लक्ष्य लिए पनि त्यो नसकिने देखिएको छ । शुक्रबार भौतिक तथा निर्माण मन्त्रालयमा भएको छलफलमा हाजमाले थप दुई महिना समय माग गरेको छ ।
दुई लेन सडकलाई जापानी सरकारको सहयोगमा ६ लेन बनाउन लागिएको हो । ६ मध्ये चार लेनमा मात्र सवारी गुडाउन मिल्ने छ । दुई लेन सर्भिस ट्रयाकको रूपमा विकास गरिने छ । चार लेन जापान सरकारले मर्मत गर्ने भए पनि दुई लेन नेपाल सरकारले बनाउनुपर्ने छ । त्यसका लागि नेपाल सरकारले जति रकम लागे पनि खर्च गर्ने सचिव कडरियाले बताए ।
नौ दशमलव एक किलोमिटर सडक निर्माणका लागि जापान सरकारले १ अर्ब ७७ करोड ४७ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
सडकको जडिबुटीको मनहरा र हुमन्ते खोलामा पुल निर्माण कार्य भइरहेको छ । पुरानो पुलसँगै अर्को पुल निर्माण भएको हो । आयोजना प्रमुख प्रधानका अनुसार राजमार्ग विस्तारको क्रममा मनोहरा र हनुमन्तेमा एकएक नयाँ पुल बन्ने छन् । मनोहरा र हनुमन्तेमा बन्ने पुल मुलुककै सबैभन्दा स्तरीय हुने उनले बताए । नयाँ बन्ने पुल दुई लेनका हुने छन् । नयाँ पुल निर्माण भएपछि दुवै ठाउँको पुरानो पुललाई मर्मत गर्ने काम हुने छ ।
Source : कान्तिपुर दैनिक
