१० केजी चरेस सहित विमानस्थलमा पक्राउ परे जापानी (नागरिक न्यूज़)
काठमाडौं, माघ ११ (नागरिक)-
लागू औषध नियन्त्रण तथा कानून कार्यान्वयन इकाइले सोमबार मध्यान्ह त्रिभुवन विमानस्थलबाट २४ वर्षे जापानी युवक केञ्जी वातानावेलाई दश केजी २ सय ५३ ग्राम चरेस सहित पक्राउ गरेको छ। वातानावेले सुटकेसमा फल्सबटम निर्माण गरी सो परिमाणको चरेस लुकाएका थिए। विमानस्थलको अत्याधुनिक एक्स-रे प्रविधि र सुरक्षा कुकुरले सुँघेर समेत पत्ता लगाउन नसक्ने गरी लुकाइएको चरेस विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको हो।
चरेस लिएर उनी लुकाएर कतार एयरवेजबाट दोहा जान लागेका थिए। वातानावे जापानको हायोगो सहरबासी भएको प्रहरीले बताएको छ। उनी जापानबाट हवाइमार्ग हुँदै भारत आइ भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ।
जापान नेपाली चरेसको उच्च माग हुने मुलुक हो। अन्तरार्ष्ट्रिय बजारमा नेपाल निर्मित एक केजी चरेसको अठार हजार डलरमा कारोबार हुनेगरेको प्रहरीको दाबी छ।
Source : नागरिक न्यूज़
