इन्दिरा सुजुकी, जापान (नारी)

सुजुकी कसरी हुनुभयो ?
अध्ययनको सिलसिलामा जापान आउँदा सुजुकी जातका जापानी युवकसँग विवाह बन्धनमा बाँधिएपछि म सुजुकी भएँ ।

जापान कस्तो लाग्छ ?
निकै रमाइलो । जापानलाई आफ्नो कर्मथलो बनाएकी हुनाले राम्रो लाग्नु स्वाभाविक हो । म २० वर्षदेखि जापानमा बस्दै आएकी छु ।

नेपाली भए पनि जापानीजस्तै देखिनुहुँदोरहेछ? हो, जपानको हावापानी, खानपान तथा वातावरणले गर्दा म जापानीजस्तै देखिन्छु ।

परिवारमा को-को छन् ?
सासू, श्रीमान् र छोरा ।

श्रीमान् कुन व्यवसायमा हुनुहुन्छ ?
उहाँ फूल व्यवसाय गर्नुहुन्छ ।

तपाईं कुन व्यवसायमा व्यस्त हुनुहुन्छ ?
म मसलाको कारोबार गर्छु ।

समय कसरी समायोजन गर्नुभयो ?
मन भए सबै काम मिलाउन सकिन्छ

देश पृथक्, भाषा पृथक् परिवारसँग घुलमिल हुन कत्तिको समय लाग्यो ?
उहाँको परिवार निकै सहयोगी तथा सरल भएकाले मलाई परिवारमा घुलमिल हुन कठिन भएन ।

जापानमा सुरुमा भोग्नुपरेको कुनै समस्या ?
सुरुमा सबैलाई भाषाको समस्या पर्छ । मलाई पनि भाषाको समस्या परेको थियो ।

कस्तो मसलाको व्यापार गर्नुहुन्छ ?
सबै खालका मसलाको व्यापार गर्छु।

व्यापार कस्तो छ ?
राम्रो छ । अहिले मेरो मसला कम्पनीमा १० जना नेपाली कामदार कार्यरत छन् । अझै व्यापार बढाउने लक्ष्यमा छु । यही व्यापारले मलाई जापानमा चिनाएको छ ।

जापानी भान्साको चलन कस्तो छ ?
नेपालको जस्तै छ । प्रायः भात पाक्छ । भटमासको सुप खाने चलन छ ।

जापानमा महिलाहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
जापानमा महिलालाई निकै आदर गरिन्छ । सबै काममा महिलालाई प्राथमिकता दिइन्छ ।

नेपाली भएर पनि गैर आवासीय नेपाली भएर नेपाल आउँदा कस्तो अनुभव भयो ?
खुसी लागेको छ । गैर आवासीय नेपालीहरूले धेरै काम गरिरहेका छन् । यसमा आफू पनि सहभागी हुन पाउँदा राम्रै अनुभव हुन्छ ।

छोराछोरी के गर्दैछन् ?
छोरी ८ कक्षामा र छोरा ३ कक्षामा पढ्दैछन् । उनीहरूलाई मैले दुवै देशको संस्कृतिको समान शिक्षा दिइरहेकी छु । मेरा छोराछोरीलाई नेपाली भाषा राम्रोसँग बोल्न आउँछ । उनीहरू नेपाली परिकार मन पराउँछन् ।

नेपाली चाडपर्व मनाउनुहुन्छ ?
हामीले सबै नेपाली चाडपर्व मनाउँछौं ।

तपाईंलाई कस्तो पहिरन मनपर्छ ?
सुट र स्कर्ट ।

कुन रंग मनपर्छ ?
वाइन कलर ।

बिदाको दिन कसरी बिताउनुहुन्छ ?
यहाँ गर्मीमा बिदा हुन्छ । त्यसबेला घुम्न जान्छौं । अरूबेला परिवारमा बित्छ । विस्तारै बढ्दै गएको छ । सबै संगठित भएर सुख-दुःख साटासाट गर्छौं ।

Source:  Issue:8-5-89 | २०६६ फाल्गुन १ | Feb 13, 2010

Leave a Response