जापानको अर्थतन्त्र विश्वको दोस्रो ठूलो (नागरिक न्यूज़)

बिबिसी, टोकियो, फागुन ३-
गत वर्षको अन्तिम त्रैमासिकमा आर्थिक वृद्धिदर १ दशमलव १ प्रतिशतले सुधार आएपछि जापानले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको …ताज’ जोगाउन सफल हुने पक्का भएको छ। करिब एक महिनाअघि चीनले उसलाई चुनौति दिएको थियो। संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका हो। जापान सरकारले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार अन्तिम त्रैमासिक (अक्टोबरदेखि डिसेम्बर) को सफलताले निरन्तरता पाए एक वर्षको वृद्धि दर ४ दशमलव ६ प्रतिशत पुग्नेछ। सरकारले अन्तिम त्रैमासिकको सुधारलाई ‘सोचेभन्दा बढी’ को संज्ञा दिएको छ। तर, सन् २००९ मा भने जापानी अर्थतन्त्र ५ प्रतिशतले घटेको छ।
गत वर्ष चिनियाँ अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले बढेको थियो। यो वृद्धि दरलाई विज्ञहरूले दोस्रो ठूलो अर्थतन्त्रतिर लम्किएको दाबी गरेका थिए।’जापानीहरू आफैंमा शान्त छन्,’ टोकियोस्थित सोसाइटी जनरलका प्रमुख अर्थशास्त्री ताकुजी ओकुबोले भने,’उनीहरू देशको समग्र आर्थिक अवस्थाप्रति निराश देखिन्छन्।’
जापानको अर्थतन्त्रमा सुधार आउनुमा निर्यातले प्रमुख भूमिका खेलेको छ। त्यसमाथि चीनतर्फको निर्यात सबैभन्दा बढी छ। जापानी उत्पादनको सबैभन्दा ठूलो आयातकर्ता चीन हो। गत वर्ष जापानको बजेट ५० खर्ब ८० अर्ब अमेरिकी डलर र चीनको ४९ खर्ब डलर थियो। दुवै देशको तथ्यांक अति नजिक भए पनि दुवैको अर्थतन्त्र मापन तरिका भने जटिल र अस्थिर रहेको छ।

सचेत उपभोक्ता
जापानी अर्थतन्त्रको ६० प्रतिशत हिस्सा ओगट्ने उपभोक्ता खर्च गत वर्ष शून्य दशमलव ७ प्रतिशतले मात्र बढेको छ। अघिल्लो त्रैमासिकमा कार र घरेलु सामग्री खरिदमा सरकारले दिएको सहुलियतको फाइदा उपभोक्ताले उठाए पनि खर्च वृद्धि दर औसतमा कम हो।
२००९ अन्तिम त्रैमासिकमा संस्थागत पुँजीगत खर्च एक प्रतिशतले बढेको थियो। यो २००८ पछि पहिलो पटक बढेको हो। सार्वजनिक लगानी १ दशमलव ६ प्रतिशतले घटे पनि निर्यात ५ प्रतिशतले बढेको थियो।

Source : नागरिक न्यूज़

Leave a Response