जापान कामदार पठाउन नेपाली एजेन्सी असफल (कान्तिपुर दैनिक)
काठमाडौ, जेष्ठ २७ -
जिट्कोअन्तर्गत जापान कामदार पठाउन खुला भएको सात महिना भइसक्दा पनि अत्यन्तै न्यून नेपाली औद्योगिक प्रशिक्षार्थीका रूपमा जापान गएका छन् । कामदार पठाउने अनुमति पाएका एजेन्सीले जापानमा नेपाली कामदारको बजार प्रवर्द्धन गर्न नसक्दा आशाअनुसार उपलब्धि हासिल हुन नसकेको हो ।
प्रशिक्षार्थी कामदारका लागि आकर्षक गन्तव्य भन्दै सरकारले १ सय ७२ वटा एजेन्सी छनोट गरेर कामदार पठाउने अनुमति दिए पनि १६ जना नेपाली मात्र औद्योगिक प्रशिक्षार्थी जापान गएका छन् । करिब एक दर्जन जापानी कम्पनीले नेपाली कामदार लैजान तीव्र इच्छा देखाए पनि नेपाली एजेन्सीले आवश्यक काम गर्न नसकेकाले नेपाली कामदार जापान जाने अवसर गुमेको जानकार बताउँछन् ।
सन् २००३ मा जापानसँग कामदार पठाउने सम्झौताभएपछि कामदार पठाउने जिम्मा पठाएको नेपाल उद्योग वाणिज्य महासंघले भने हालसम्म ११ नेपालीलाई पठाएको छ । गत वर्ष मात्र पहिलो पटक कामदार पठाएको महासंघले लामो समयसम्म काम गर्न नसकेको भन्दै सरकारले अन्य एजेन्सीलाई पनि अनुमति दिएको छ । तर सरकारले थपेको १ सय ७१ एजेन्सीममध्ये सिद्धार्थ बुद्धि ओभरसिजले मात्र ५ जना कामदार जापान पठाएको छ । करिब ६ महिनाअघि जापान भ्रमणबाट फर्केपछि महासंघका अध्यक्ष कुशकुमार जोशीले एक वर्षमा ५ सय प्रशिक्षार्थी जापान पठाउने योजना सुनाएका थिए । महासंघले थप ३६ जना नेपाली पठाउने तयारी रहेको जनाएको छ । जसमा २० महिला र १६ जना पुरुष छन् । उनीहरूलाई भाषा र संस्कृतिलगायत प्रशिक्षण दिने काम भइरहेको महासंघका एक अधिकारीले बताए ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाका अनुसार न्यून मागको प्रमुख जिम्मेवार अनुमति पाएका एजेन्सी भएको बताउँछन् । नेपाली एजेन्सीले जापानी कम्पनीसँग प्रभावकारी रूपमा प्रचार गर्न नसक्दा जापानको ठूूलो कामदार बजारको हिस्सा नेपालले लिन नसकेको उनको भनाइ छ ।
‘जिट्कोले कम्पनी थपेर प्रशिक्षार्थी कामदार लैजान खुला गरेपछि सन् २०१० मा नेपालले २० हजार प्रशिक्षार्थी पठाउन सक्ने बताएका थियो,’ देवकोटाले भने, ‘तर नेपाली एजेन्सीले त्यो अवसरको सदुपयोग गर्न सकेनन् ।’ जिट्कोका अधिकारीको उद्धृत गर्दै देवकोटाले भने, ‘चिनियाँ कामदारमा रहेको निर्भरता कम गर्न जापानले नेपाली कामदारलाई विकल्पका रूपमा हेरेको छ।’
अहिले जापानमा जाने गरेको करिब ५० हजार कामदारमध्ये ८० प्रतिशत चीनबाट जान्छन् । जापानले चिनियाँ कामदार कम गर्न नेपाल, बंगलादेश र मंगोलियालाई प्राथमिकतामा राखेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटा सुरुमा आशा गरिएजति उपलब्धि हुन नसकेको बताउँछन् । नेपाली एजेन्सीका साथै विश्वव्यापी आर्थिक मन्दीबाट प्रभावित जापानको अर्थतन्त्रले पनि मागमा असर पुर्याएको उनको भनाइ छ ।
‘लामो समय बित्दा पनि महासंघको सहित १६ जना नेपाली मात्र जापान गएका छन्,’ उनले भने, ‘अहिले करिब ४/५ वटा कम्पनीले ५० भन्दा कम कामदारको माग ल्याएका छन् ।’ एजेन्सीले बजार प्रवर्द्धनमा खासै काम गर्न नसक्नुका साथै जापानमा अहिले देखिएको आर्थिक मन्दीले पनि मागमा असर परेको बताउँछन् । हालसम्म रेन्बो ओभरसिज, फ्युजन इन्टरनेसनल, ग्लोबल एलाइन्स, प्यासेफिक ओभरसिज, अराउन्ड द बल्र्ड सर्भिसेज र सिद्धार्थ गौतमले प्रशिक्षार्थी कामदारको माग ल्याएका छन् ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तिलक रानाभाट भने विश्वव्यापी मन्दीको कारण जापानबाट कामदारको माग कम आएको बताउँछन् । ‘मन्दीको मारमा परेकाले प्रशिक्षार्थी कामदार लैजान जापानी कम्पनी ढुक्क हुन सकेका छैनन्,’ रानाभाटले भने ।
Source: कान्तिपुर दैनिक
