जापानका लागि चीनको विकल्पमा नेपाली कामदार (कान्तिपुर दैनिक)
काठमाडौ, अषाढ १० -
सबैभन्दा बढी चिनियाँ कामदार लैजाने गरेको जापानले नेपाली कामदारलाई त्यसको विकल्पका रूपमा लिएको बताएको छ । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन -जिट्को) अन्तर्गत औद्योगिक कामदार लैजाने प्रक्रियामा नेपाल आएका जापानी व्यवसायी मासाकी बानले यस्तो बताएका हुन् । उनले चिनियाँ कामदारप्रतिको विश्वास गुम्दै गएकाले जापानीले नेपालीलाई विकल्पका रूपमा लिएको बताए ।
‘चिनियाँ कामदार सुरुमा सम्झौता भएर गएको काम छाडेर भाग्ने समस्या धेरै छ,’ एडभान्स एसोसिएसनका अध्यक्ष बानले भने । जापान पुगेका केही समयमा तलब बढाउ भन्दै जुलुस गर्ने र चक्कु प्रहार गरी आपराधिक घटना बढाउने काम चिनियाँबाट धेरै भएको भन्दै जापानले यसलाई निरुत्साहित गर्न चाहेको उनको भनाइ छ । चीनबाट कामदार लैजान नचाहेको जापानले सम्भावित विकल्पका रूपमा नेपाललाई देखेको उनले बताए ।
‘हामीले यसअघि पनि नेपाली कामदार लगिसकेका छौं,’ उनले थपे, ‘काम देखेर चीनको सम्भावनाका रूपमा नेपाललाई प्राथमिकतामा राखिएको हो ।’ उनको कम्पनीले पहिलो चरणमा २६ जनालाई लैजान प्रक्रिया सुरु गरेको छ । ३ महिनाभित्र उनीहरू जापान जानेछन् । पहिलो चरणका कामदारबाट सन्तुष्ट भए यसै वर्षको अन्तमा थप १ सय २० जना कामदार लैजाने योजना उनको छ । जापानमा अहिले सबैभन्दा बढी चिनियाँ छन् । जापानमा रहेका विदेशी कामदारमा ८२ प्रतिशत चिनियाँ भएको उनले बताए । जापानले वाषिर्क करिब ६३ हजार विदेशी कामदार लैजान्छ । जापानमा कामदारसम्बन्धी काम गर्ने वकिल माइडा काजुमीले जापान जाने प्रशिक्षार्थी नेपाली कामदारको संख्या नेपाली सही कागजात कति छिटो र सजिलै पठाउँछ भन्नेमा पनि निर्भर रहने बताए ।
यस्तै बानले नेपालीलाई होटल र निर्माण क्षेत्रमा नपठाउन सुझाव दिए । ‘यी क्षेत्रमा कामदार पठाउन प्रायः असम्भव छ,’ उनले भने, ‘निर्माण क्षेत्रमा काम गर्नेले तलब नपाउने र खतरा पनि बढी हुन्छ ।’ आपराधिक समूहको हात निर्माण क्षेत्रमा हुने भएकाले तलब नपाउने र ज्यानका खतरा भएको भन्दै उनले नेपालीलाई कृषि क्षेत्रमा पठाउन सुझाव दिए । अहिले जापान आर्थिक मन्दीमा फसेकाले अत्यधिक आवश्यक क्षेत्र कृषिको मागमा असर नपर्ने उनले बताए ।होटल क्षेत्रमा एक वर्षको भिसा पाउने भएकाले नेपाली जानु ठीक नहुने उनले बताए ।
जापानमा करिब ६५ प्रतिशत विदेशी कामदार कृषि र पशुपालनका लागि काम गर्न जान्छन् । यसअघि सरकारले निर्देशिका जारी गरेर नेपाल उद्योग वाणिज्य महासंघसहित १ सय ७१ कम्पनीलाई जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएको छ । यसमध्ये अहिलेसम्म करिब आधा दर्जन कम्पनीले ६० जानको मात्र माग ल्याएका छन् । यस व्यवस्थाअनुसार नेपाली कामदारले जापानमा ३ वर्ष काम गर्न पाउने छन् । उनीहरूले पहिलो एक वर्ष प्रशिक्षार्थी र त्यसपछिका दुई वर्ष अभ्यासार्थीका रूपमा काम गर्नेछन् ।
Source: ekantipur
