‘जापानद्वारा नयाँ व्यवस्था लागू’ (कान्तिपुर दैनिक)
काठमाडौ, अषाढ २३ – जापानले जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत जाने कामदार लैजाने प्रक्रियालाई कडाइ गरेको छ । नक्कली कागजात बनाएर कामदार जान रोक्ने उद्देश्यका साथ जापानले थप कागजात बुझाउनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था गत साता (जुलाई सुरु) देखि लागू गरिएको हो ।
नयाँ व्यवस्थाअन्तर्गत जापान जाने कामदारले लैजाने कम्पनी र कामदार पठाउने कम्पनीबीचको सहमतिपत्र र भाषा प्रशिक्षण दिने कम्पनी र कामदार लैजाने कम्पनीबीचको सहमतिपत्र पनि आवश्यक पर्नेछ । यसअघि औद्योगिक प्रशिक्षार्थी कामदारले आफ्नो देशमा २ वर्ष काम गरेको प्रमाणपत्र, ३ वर्ष औद्योगिक प्रशिक्षार्थीका रूपमा काम गरेर र्फकने कामदारको प्रतिज्ञापत्र र काम गरेर फर्केपछि पुनः जागिर दिने कम्पनीको पत्र मात्र आवश्यक पथ्र्यो । जिट्कोअन्तर्गत जापानले विभिन्न १५ मुलुकबाट विदेशी कामदार लैजाने गर्छ ।
Source: कान्तिपुर दैनिक
