हामी लिन होइन, दिन आएका हौं (कान्तिपुर दैनिक)
गैरआवासीय नेपालीहरूको संगठनको तेस्रो विश्व-सम्मेलनका क्रममा अध्यक्षका लागि तपाईंको नाम झिनो रूपमा सुनिएको थियो, अरू दुई प्रतिस्पर्धी राम थापा र भीम उदास बलिया देखिन्थे । यद्यपि तपाईं नै अध्यक्षमा चुनिनुभयो, आश्चर्य लागेन ?
एनआरएनका सबै सदस्य नेपालका लागि चिन्तित छन् । हामी तीन जना केही बढी खट्यौं होला । हामी सबैको उद्देश्य समृद्ध नेपाल हो ।
हाम्रो लक्ष्य पदमा जानु होइन । जसले जिम्मेवारी पाउँछ, उसले बढी काम गर्छ । मैले आफूलाई बलियो प्रतिस्पर्धी मानेको थिएँ, अध्यक्षमा चुनिँदा आश्चर्य लागेन ।
नेपालीको संस्कार जहाँ पनि उस्तै हो भन्ने आरोप लागिरहेका बेला प्रतिस्पर्धीहरूले तपाईंलाई निर्विरोध छाने, यसले के संकेत गर्छ ?
हामी सबै योग्य छौं । यहाँ म राजनीतिज्ञहरूको विरोध गरिरहेको छैन, तर निर्विरोध चयनले नेपालका नेतालाई केही सन्देश जान्छ कि भनेर बन्द कोठामै बस्दा जो भए पनि निर्वाचन नगर्ने प्रतिबद्धताका साथ बसेका थियौं । सबैले आ-आफ्नो कुरा राख्नुभयो, अन्त्यमा दुवैले मलाई समर्थन गर्ने निर्णय गर्नुभयो । यसले के संकेत गर्छ भने हाम्रो उद्देश्य समृद्ध नेपाल हो, पद हत्याउनु होइन । अहिले हामी संविधान निर्माण प्रक्रियामा छौं । राजनैतिक दललाई स्ट्रोङ म्यासेज दिन, समयमै संविधान दिन नेतामा अरूलाई समर्थन गर्ने संस्कार हुनुपर्छ भनेर सहमतिमा पुगेका हौं ।
विदेशमा रहेका २५ लाख नेपालीको अगुवा हुन जुन वाकपटुता चाहिन्छ, त्यो तपाईंसँग छैन भनिन्छ नि ?
सबैका आ-आफ्नै क्षमता छन् । म हिमालको मान्छे हुँ । भाषण गर्न, घुमाएर कुरा गर्न जान्दिनँ । यद्यपि म काम गर्न जान्दछु । हाम्रो संस्थालाई काम गर्ने मानिस चाहिएको छ । निर्वाचित भएपछि पनि मैले बोलेका कुरा सुन्नुभयो नै होला । मेरो भनाइ छ, म कुरा होइन, काम गरेर देखाउँछु ।
तपाईंले गर्ने पहिलो तीनवटा काम के-के हुन् ?
मुख्य काम एउटै हो— समृद्ध नेपाल । यदि त्यसलाई तीनवटामा विभाजन गर भन्नुहुन्छ भने म भन्छु, पहिलो एक गाउँ, एक उत्पादन, दोस्रो, ५५ देशमा छरिएका एनआरएनमार्फत नेपाली उत्पादनको मार्केटिङ, तेस्रो न्यूनतम १० मिलियन डलरको नेपाल विकास फन्ड । हाम्रो काम यतिमै सीमित हुनेछैन । हामी विदेशमा रहेका लाखौं नेपाली मुटुमा नेपाल लिएर घुमिरहेका छौं । ती देशबाट नेपालका लागि सहयोग जुटाउने, लगानी भित्र्याउने, पर्यटक पठाउने, अवैतनिक रूपमा राजदूतको काम गर्ने, ती देशमा अप्ठयारो परेका नेपालीलाई सहयोग गर्नेजस्ता अनगिन्ती काम छन् । यी काम कसैले गर भनेर अह्राएको होइन, हामी आफैं आफ्नो धर्तीको भारा तिर्न लागिपरेका हौं । हामीभित्र यो देशलाई हामीले सहयोग नगरे कसले गर्छ भन्ने भावना छ ।
एक गाउँ-एक उत्पादन जापानी सरकारको योजना हो, यसलाई एनआरएनले आफ्नो एजेन्डा बनाएको हो ?
म आफैं जापानमा बस्ने भएकाले जापान सरकारले चलाएको यो योजनाबाट फाइदा लिन सक्छु भनेर यसको प्रवर्द्धन गर्न थालेको हुँ । विश्वमा केही समयपछि खाद्यान्नको ठूलो अभाव हुँदैछ । यस्तो अवस्थामा तेस्रो मुलुकका गाउँ-ठाउँमा जस्ता किसिमका खाद्यपदार्थ उत्पादन हुन्छन्, त्यसलाई बढाउनु विकसित देशको बाध्यता हो । नेपालमा लप्सी, माछा, सुन्तला, स्याउजस्ता स्थानीय उत्पादन वृद्धि गर्न जापान सरकारले सहयोग गर्दैछ । यसबाट हामीले फाइदा लिन सक्छौं । यसको बजार प्रवर्द्धन गर्ने जिम्मा एनआरएनको जुन नेटवर्क छ, त्यसले लिने योजना बनाइएको छ । कल्पना गर्नुहोस्, यदि नेपाली गाउँमा फल्ने चिया विश्वभरि छरिएका २५ लाख नेपालीले मात्र खाइदिने हो भने पहाडमा ठूलो परिमाणमा चियाखेती सुरु हुन्छ ।
नाङ्गो पहाड चियाखेतीले भरिने हो भने नेपाली कति धनी हुन्छन् ? नेपालको कुन उत्पादनमा तपाईंहरूले विशेष जोड दिइरहनुभएको छ ?
हामी विश्वको नम्बर वान निर्यातकर्ता हुन्छौं भन्यौं भने त्यो मूर्खता हुन्छ । विदेश निर्यात गर्न वन्ली वान प्रोडक्टमा जोड दिनुपर्छ । स्वीजरल्यान्ड घडी निर्यात गरेरै धनी भयो । किनभने उसको जस्तो विशेष किसिमको घडी विश्वका अरू देशले उत्पादन गर्न सकेनन् । हामीभित्र त्यस्तै विशेष कुराको खोजी गर्नुपर्छ । मलाई लाग्छ नेपाली पत्थर, यार्सागुम्बाको ट ्याब्लेट, सिस्नोको पीठो त्यस्ता केही उत्पादन हुन्, जुन हामी मात्र उत्पादन गर्न सक्छौं । अरूले कपी गर्न नसक्ने, नेपालमै कच्चापदार्थ पाइने जस्ता विशेषता भएका उत्पादन गर्नुपछर् । अहिले काँचो यर्सागुम्बा बाहिर गएको छ । यदि त्यसलाई प्रशोधन गरेर ट्याब्लेटका रूपमा निर्यात गर्ने हो भने अहिले पाएको भन्दा हजार गुणा बढी मूल्य हामीले पाउँछौं । यो कुरामा सरकारले गहन चिन्तन गर्दै काम गर्ने वातावरण बनाउनुपर्छ ।
अहिले खाडी मुलुक गएका नेपालीहरूले ठूलो दुःख पाइरहेका छन्, यसमा एनआरएनको कस्तो चासो छ ?
जुन क्षेत्रमा दैनिक दुई-तीन जना नेपाली मरिरहेका छन् । जुन देशमा नेपालीहरू तल्लो दर्जाको काम गर्न विवश छन्, त्यसमा हाम्रो गम्भीर चासो छ । हामीले सरकारलाई तालिम दिएर मात्र जनशक्ति पठाउन आग्रह गरिरहेका छौं । तालिम दिनका लागि आवश्यक पूर्वाधार एवं तालिम शिक्षकका लागि हामी खर्च गर्न तयार रहेको कुरा सरकारलाई बताएका छौं । अर्को कुरा खाडी मुलुकसँग नेपालले गरेको श्रम सम्झौतामा धेरै कमजोरी छ । त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर चिन्ता व्यक्त गरिरहेका छौं । यस्तो कामका लागि सरकारलाई सघाउन एनआरएन तयार छ । विदेशमा नेपालीले दुःख नपाऊन् भनेर विशेष फन्ड जम्मा गर्न थालेका छौं । यस्तो पैसाले उनीहरूको उद्धार गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
अहिले एनआरएनले भनेका सबै कुरा सरकारले मानिरहेको छ, एनआरएनलाई सरकारले जति महत्त्व दिएको छ, यसबाट तपाईंले भनेको कुरा तुरुन्तै भैहाल्छ भन्ने लाग्दैन ?
बाहिर देखिनु एउटा कुरा हो, तर वास्तविकता तपाईंले भनेजस्तो छैन । हामीले दोहोरो नागरिकताको कुरा गरिरहेका छौं । बाहिर मुखले हुन्छ भने पनि सरकार त्यसमा आनाकानी गरिरहेको छ । जुन महत्त्व दिइएको भनिएको छ, त्यो मिडियाले दिएको हो । यदि सरकार हाम्रो कुरामा गम्भीर छ भने तुरुन्तै दोहोरो नागरिकताको व्यवस्था मिलाउनुपर्छ ।
परिचयपत्रले नागरिकताको जस्तै काम गर्छ भने किन चाहियो नागरिकता ? दोहोरो नागरिकता लिएर एनआरएनहरू दुवै हातमा लड्डु चाहन्छन् भन्ने आरोप लागिरहेको छ, के भन्नुहुन्छ ?
म जहाँ बसे पनि नेपाली हुँ भन्ने सम्मानका लागि । जापानका नागरिकले दोहोरो नागरिकता लिन पाउँदैनन्, तर युरोप-अमेरिकाका कतिपय देशमा दुईवटा नागरिकता लिन पाइन्छ । त्यसैले दोहोरो नागरिकता मेरा लागि होइन, सुविधा दिएका देशमा बस्ने एनआरएनहरूका लागि हो । यस्तो सुविधा पाउँदा दोस्रो-तेस्रो जेनेरेसनले पनि आफू नेपाली भएको गौरव गर्न पाउँछ, आजका एनआरएनका सन्ततिहरू सय वर्षपछि पनि नेपाल फर्केर बस्ने वातावरण हुन्छ । जुन परिचयपत्रले समेट्न सक्दैन । मानौं, मैले यहाँ ठूलो लगानी गरें, तर मेरो छोरो यहाँ आएर भिसा रिन्यू गरिरहनुपर्छ भने म ठूलो लगानी गर्न सक्दिनँ । धेरै लाहुरे अहिले बेलायत गए, उनीहरू घर-जग्गा बेचेर गए । यदि उनीहरू भोलि नेपाल र्फकने कानुनी ग्यारे न्टी गर्न सकेको भए ती घरजग्गा सस्तोमा बेच्ने बाध्यता हुने थिएन । यो कुरा सरकारले बुझ्ने प्रयास गरेको छैन । हामी बाहिरी रूपमा हेर्दा नागरिकता लिन आएजस्तो देखिन्छ, तर वास्तविकता के हो भने हामी लिन होइन, दिन आएका हौं ।
यसले राजनीतिमा विकृति भित्र्याउने डर हुँदैन ?
हामीले यस्तो नागरिकता दक्षिण एसियाली मुलुकमा बस्ने नेपालीलाई दिनुहुँदैन भनेर स्पष्ट पारेका छौं । अर्को कुरा, एनआरएनले नागरिकता पाए पनि उसले भोट दिनेलगायतका राजनैतिक अधिकार पाउँदैन भनेर प्रस्ट पारेका छौं । हामीले राजनैतिक उद्देश्यका लागि नागरिकता चाहेका होइनौं, हाम्रा सन्तान पनि नेपाली भएर बाँच्ने वातावरण तयार होस् भनेर चाहेका हौं । मेरै छोराको उदाहरण लिनुहोस् । भविष्यमा नेपालमा बस्न समस्या पर्छ भन्ने लागेर उसले जापानको नागरिकता लिएको छैन । किनभने ऊ नेपालमै केही गर्न चाहन्छ । यो भावनात्मक कुरा सरकारले कसरी बुझ्छ ?
आफ्नो रिटायर्ड लाइफ कसरी बिताउने योजना बनाउनुभएको छ ?
मैले अहिलेसम्म जापानी नागरिकता लिएको छैन । मैले यहाँको बिजनेसलाई बढाउँदै लगेको छु । मैले पेन्सन जापानबाट लिने र नेपालमा खर्च गर्ने योजना बनाएको छु । पोखरामा २५ वर्षअघि खोलेको स्टोन फ्याक्ट्रीलाई थप सुदृढ पारेर नेपाली स्टोनका औंठी विश्वप्रसिद्ध बनाउने योजनामा छु । जापानमा रहेको ट्राभल एजेन्सी र आइटी बिजनेसलाई नेपालमा थप विस्तार गरेर नेपालको समृद्धिमा योगदान पुर्याउने लक्ष्यका साथ अघि बढेको छु ।
सफलताको रहस्य के हो ?
मैले जापानमा जति पनि सामग्री बेचें, मेड इन नेपाल लेखिएका सामग्री बेचें । जति सोचें, नेपालकै लागि सोचें । मैले आफ्नो माटोलाई बिर्सिएको छैन, बिर्सदिनँ । मैले जे-जति पैसा कमाएँ, नेपालकै नामले कमाएँ । यदि यो निर्वाचनले मेरो नाम प्रसिद्ध भएको हो भने त्यो पनि नेपालकै बारेमा सोचेर प्रसिद्ध भएको हो । भोलि मैले राम्रो काम गर्न सकें भने त्यो पनि नेपालकै लागि गर्नेछु । यदि अमर भएँ भने नेपालकै लागि काम गरेर अमर हुनेछु ।
