ओकादाको फोन आएन (कान्तिपुर दैनिक)

काठमाडौ, अषाढ ३१ -
विश्वकपमा जापानले निकै राम्रो खेल्यो । सबैले जापानी टिम र प्रशिक्षकको प्रशंसा गरे । जापानको सफलतामा मलाई पनि औधी खुसी लागेको छ । मेरो खुसी स्वाभाविक पनि छ । किनभने जापानी सफलताका निर्देशक ताकेसी ओकादा कुनै बेला मेरा नजिकका साथी थिए ।
विश्वकपमा उनले महत्त्वाकांक्षी लक्ष्य राखेका थिए, सेमिफाइनल पुग्ने । ओकादाले सम्हालेको टिमले अन्तिम चारको यात्रा तय गर्न नसके पनि पहिलोपल्ट विदेशी भूमिमा जित निकाल्यो । पहिलोपल्ट नकआउट चरणमा पनि प्रवेश गर्‍यो । यस क्रममा जापानी टिमले लोभलाग्दो खेल पस्केको थियो । खेलको योजना प्रशिक्षकले बुन्ने गर्छन् । त्यसमा ओकादा सफल रहे ।
प्रशिक्षक ओकादा अहिले विश्व फुटबलकै प्रशंसाका पात्र बनेका छन् । म पनि उनलाई बधाई दिन चाहन्छु । उनलाई प्रत्यक्ष बधाई दिन नपाउँदा भने केही खल्लो लागेको छ । मलाई थाहा छ, उनी निक्कै व्यस्त छन्, ठूला टिमका प्रशिक्षकलाई हतपत फुर्सद हँुदैन ।
ओकादासँग मेरो सम्पर्क टुटेको एक दशक हुन लागेको छ । त्यसअघि उसले नै मलाई बेलाबेलामा फोन गर्ने गर्थे । एकपछि अर्को सफलता प्राप्त गर्दै उनी व्यस्त हुन थाले र मसँगको सम्बन्ध पातलिँदै गयो । अन्ततः टुट्यो नै । तैपनि क्वालालम्पुरमा उनीसँगै बिताएको एक महिना अहिले निकै सम्झनामा आइरहेको छ । सायद, यो उनको सफलताले हुनसक्छ । सन् १९९६ मा भएको एक महिना लामो ‘एसियन स्कुल्स सिनियर कोच’ प्रशिक्षण कार्यक्रममा हामी एकैसाथ सहभागी थियौं । त्यसबेला एसियाका ३० देशका सिनियर प्रशिक्षकहरू सहभागी थिए । नेपालले मलाई पठाएको थियो । जापानको प्रतिनिधित्व ओकादाले गरेका थिए । ट्रेनिङको पूरै अवधि उनी मेरा रुम पार्टनर थिए ।
ओकादा आफंैलाई राम्रो खेलाडी मान्दैनथे । ‘तपाईं त नेपालको राम्रो खेलाडी, त्यसैले खेलाडीलाई कौशल देखाएर सिकाउन पनि सजिलो हुन्छ होला,’ बेलाबेला उनी मलाई भन्ने गर्थे । प्राविधिक ज्ञानमा ओकादा उही बेला धेरै राम्रा थिए । त्यसैले उनी रणनीति अर्थात् ‘ट्याक्टिस’ मा जोड दिन्थे । प्रशिक्षक बन्न खेलाडी नै हुनुपर्छ भन्ने छैन । यो सत्यता ओकादाको हकमा पनि लागू भएको छ । कलात्मक फुटबलमा ओकादाको सधैं जोड रहन्थ्यो । ‘प्रदर्शन सधैं राम्रो हुनुपर्छ,’ बेलाबेला मसँग उनले भन्ने गर्थे । प्रशिक्षणमा पनि उनी व्यक्तिगत र टिमको प्रदर्शन निखार्ने उपायबारेमै धेरै विचार गर्थे । राम्रो प्रशिक्षकमा हुनुपर्ने सबै गुण उनमा थियो । फुटबलको सिद्धान्तमा उनी निपूर्ण थिए । त्यसैले उनी प्राक्टिकलमा ध्यानमग्न हुन्थे । काममा उनी निक्कै एकाग्र हुन्थे । कामबाहेक अन्य केही पनि उनी सोच्दैनथे । त्यही लगावले नै उनलाई सफल प्रशिक्षक बनाएको हो । प्रतियोगितामा प्रतिद्वन्द्वी अनुसारको टेक्निक र ट्याक्टिस प्रयोग गर्नुपर्ने उनी बताउँथे । अनुशासनमा रहन नसके कहिल्यै सफलता हात पार्न नसक्ने उनको निष्कर्ष थियो । योपल्ट विश्वकपमा जापानको प्रदर्शन ठीक यस्तै देखियो ।
झट्ट हेर्दा ओकादा सामान्य खालका देखिन्थे । अहिले टेलिभिजनमा पनि उनी उस्तै छन्, क्वालालम्पुरमा सँगै बसेको जस्तै । आफ्नो सबै काम उनी स्वयं गर्थे । सरल स्वभावका उनी कमै मात्र बोल्ने गर्थे । उनमा घमण्ड पटक्कै थिएन । उनको सफलतामा जापानको ठूलो लगानी, राम्रो सुविधा र प्रतिभावान् खेलाडीले पनि राम्रो साथ दिए ।
त्यो बेला पनि उनी ठीक अहिलेकोजस्तै चस्मा लगाउँथे । मैले नेपाल आउन निम्तो पनि दिएँ । नेपालका ठाउँबारे कुरा गर्दा उनी खुबै रुचि राख्थे । ‘भविष्यमा नेपाल आउँछु,’ उनी भन्थे । तर अहिलेसम्म आएका छैनन् । मलाई लाग्छ, उनी बौद्ध धर्मावलम्बी हुन् । त्यसैले कुनै बेला नेपाल आउनेमा म विश्वस्त छु । क्वालालम्पुरमै हुँदा त्यसबेला जापानका मुख्य प्रशिक्षकसँग पनि मलाई भेटाएका थिए । ती प्रशिक्षकको नामचाहिँ सम्झना छैन । त्यही वर्ष एसिया कपको छनोटमा उनी नेपालको खेल हेर्न तेहरान र मस्कटमा पनि आएका थिए । दुवै स्थानमा नेपाल, ओमन र इरान भिडेका थिए । यो समूहको विजेताको भेट दोस्रो चरणमा जापानसँग हुने भएकाले उनी आफ्नो प्रतिद्वन्द्वीको खेलको विश्लेषण गर्न आएका थिए ।
नेपालले मस्कट र इरानका चारै खेलमा हार बेहोर्‍यो । त्यसबेला नेपालको मुख्य प्रशिक्षक श्याम थापा थिए भने म उनका सहायक । उनकै इच्छाअनुसार ओकादालाई मैले मुख्य प्रशिक्षक श्याम थापा र गोलकिपर उपेन्द्रमान सिंहसँग पनि भेटाइदिएँ । नेपाली खेलाडी शारिक रूपमा अलि कमजोर र टिममा सुधार गर्ने ठाउँ प्रशस्तै भएको ओकादाले हाम्रो खेलपछि बताएका थिए ।
मस्कटमा श्याम थापा र मलाई उनले पार्टी पनि दिए । विदेशी भूमिमा कसैले सम्मान गर्दा साह्रै खुसी अनुभव गरेको थिएँ । सफलताका लागि बलियो मिडफिल्ड, आक्रामक खेल र गोल गर्ने क्षमता हुनुपर्ने उनी बताउँथे । बढी गोल गर्नसक्ने खुबी भएको टिम नै सफल हुन्छ भन्ने उनको धारणा थियो ।
सन् १९९८ मा जापानले पहिलोपल्ट विश्वकप खेलेको थियो । त्यो बेला पनि ओकादाले नै जापानी टिम सम्हालेका थिए । उनले मलाई जापान घुम्न पनि बोलाएका थिए । विविध कारणले जाने मौका मिलेन । बेला-बेला जापानी राष्ट्रिय टिमको नीलो जर्सी र सोभेनियर उपहारस्वरूप पठाउँथे ।
उनीसँगको मित्रतामा सबैभन्दा खुसीको क्षण सन् १९९६ को ओलम्पिक गेम्स रह्यो । ओलम्पिकमा जापानको फुटबल टिम पनि छनोट भएको थियो । त्यसका प्रशिक्षक थिए, ओकादा । अमेरिकी भूमिमा सनसनीपूर्ण रूपमा जापानले फुटबलको महारथी ब्राजिललाई पराजित गरेको थियो ।
ब्राजिलमाथि ऐतिहासिक जित रचेपछि होटल पुगेलगत्तै ओकादाले मलाई फोन गरेर भनेका थिए, ‘कृष्ण, हामीले ब्राजिललाई हरायौं नि ।’ योपल्ट भने दक्षिण अपि|mकाबाट फोन आएन । तैपनि ओकादालाई बधाई नदिइरहन सक्दिनँ । -नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापासँग राजु घिसिङले गरेको कुराकानीका आधारमा)

Source: कान्तिपुर दैनिक

Leave a Response