शिक्षिका उत्पादनमा निजी प्रयास (कान्तिपुर दैनिक)

काठमाडौ, कार्तिक ११ -
२८ वर्षअघि पदयात्रामा नेपाल आउँदा यामासिता यासुको ४४ वर्षकी थिइन् । विश्वको अग्लो चुचुरो सगरमाथा र अरू हिमालबारे सुनेर लोभिएकी थिइन् उनी । त्यो लोभ मनमा बोकेर जब उनी पोखराको घोरेपानी पुगिन्, बाटामा देखिन्- घाँसदाउराबाट फर्केका महिला । गोठाला केटाकेटी । किताबको साटो मैलो धैलो भएर आफंैजत्रो डोकोमा भारी बोकेका बालिकाहरू ।
त्यो यात्रामा उनले हिमाल मात्रै नजिकबाट हेरिनन्, विद्यालय जान नपाएका नेपाली बालिकाको समस्या पनि चियाइन् । त्यहाँ भेटिएका महिला र बालिकाको तस्बिरले आफ्नो भूमि जापान फर्केपछि पनि उनको मन बिथोलिइरह्यो । यसले उनलाई एउटा अठोटमा पुर्‍यायो- ‘नेपालको यो अवस्थाबारे केही त गर्नै पर्छ ।’
संयोगले सन् १९९० मा उनले नेपालका विद्यालयमा शिक्षिका र विद्यालय नगएका बालबालिकाबारे अध्ययनको मौका पाइन् । गाउँ घुम्दा देखिन्, कति विद्यालयमा शिक्षक छैनन्, कक्षा कोठा छैन । शिक्षिका त फाट्टफुट्ट । उनको अध्ययनले धेरै बालिका शिक्षिका नभएकाले विद्यालय जान अप्ठेरो मान्ने गरेको देखायो । गएका पनि लामो समय नटिकेका धेरै घटना उनले भेटिन् । उनको रिपोर्टमा तीन सुझाव थिए- नेपाल सरकारले बालबालिका दुवैलाई अनिवार्य शिक्षाको व्यवस्था गर्नुपर्ने, शिक्षक लाइसेन्स व्यवस्था तथा शिक्षकलाई विद्यालय र विद्यार्थीप्रति उत्तरदायी बनाउनुपर्ने ।
‘म अध्ययनका लागि नेपालका जुन-जुन गाउँ गएँ, प्रायः शिक्षक विद्यालयमा भेटिएनन्,’ अघिल्लो हप्ता पोखरामा भेटिएकी अवकासप्राप्त हँसिली प्राध्यापक कफीको चुस्कीसँगै बोलिन्, ‘शिक्षक खेतबारी, गोठ, घरमा बच्चा हेरिरहेका वा टोलका पसलमा गफिइरहेका भेटिए । उनीहरुको प्राथमिकतामा विद्यालय र विद्यार्थीभन्दा अरू नै कुरा थिए ।’
सन् १९४५ मा आफू टोकियो नजिकैको प्राथमिक तह पढ्दा शिक्षक गयल भएको कहिल्यै थाहा थिएन । त्यतिखेर जापानमा युद्ध टुंगिएको थिएन तर शिक्षकहरूले पढाउन आलटाल गरेनन् । ‘युद्धको धङधङीमा मेरो कलिलो मानसिकताले केही महिना सैनिक ज्ञानको अनिवार्य शिक्षा लियो । जुलाईमा युद्ध सकियो । त्यसपछि मान्छे अंगारले सैनिक शिक्षाको अक्षर मेटेर पढ्न थालें,’ नयाँ संविधान बन्ने प्रक्रिया रहेको जापानमा महिला-पुरुषको समान अधिकारबारे छलफल चलिरहेका बेला प्राथमिक तह सकेकी उनले भनिन् । प्राथमिक तहका शिक्षक पाठ्यपुस्तकबाहेकका धेरै कुरा पढाउँथे । कक्षा ३ पढ्दा जापानको संविधानबारे पत्रिकाले लेखेको कुरा शिक्षकले कक्षामा छलफलमा ल्याएको उनले अहिलेसम्म बिर्सेकी छैनन् ।
‘युद्ध सकिएको केही वर्षसम्म दाताको अनुदानमा प्राप्त दूध र खाकुरामा हामी धेरैले निर्भर हुनुपरेको थियो,’ उनले बाल्यकालको दुखियाँ विगत बताइन्, ‘त्यही दुःखको सम्झनाले अहिले मलाई काम गर्न सजिलो भएको छ । विगतको सम्झनाले ऊर्जा दिएजस्तो लाग्छ ।’
दशक लामो द्वन्द्वले जर्जर नेपालमा पुरातन मानसिकता बदलिएको छैन र विद्यालयमा छात्राभन्दा छात्रको संख्या धेरै छ । ‘बालिकालाई शिक्षाको अवसर दिएर शिक्षण पेसामा ल्याउनुपर्छ, जसले समाज बदल्न मद्दत गर्छ,’ प्राध्यापक डा. यामासिताले यस्तै बुझेकी छन् । त्यही भएर त मध्य र सुदूरपश्चिमबाट एसएसली उत्तीर्ण छात्रालाई शिक्षिका बनाउने अठोटमा उनी कस्सिएर लागेकी हुन् । उनको अभियानमा शिक्षण पेसाबाट अवकासप्राप्त र अरू मनकारी जापानीले सघाएका छन् । जो बेलाबेला आफ्ना अनुभव साट्न नेपाल पनि आइरहन्छन् । उनी त्यसको अगुवा भएर नेपालका पाखा-कन्दरा कुदिरहन्छिन् ।
नेपालमा तालिम प्राप्त दक्ष शिक्षिका उत्पादन गर्न उनले सन् २००६ मा पोखराको कन्या क्याम्पस छुट्टै छात्रावाससहितको सहयोग सुरु गरिन् । त्यसलाई सघाउन आफैं अध्यक्ष रहेर ‘जापान-नेपाल महिला शिक्षा संघ’ खोलिन् । संघलाई मनकारी जापानी, अवकासप्राप्त शिक्षक र केही जापानी संस्थाको सहयोग छ । मध्य र सुदूरपश्चिमको दूरदराजका १ सयलाई तालिम प्राप्त शिक्षिक बनाउने योजना सफल पार्न उच्च शिक्षामा सहज पहुँच नभएकालाई अवसर दिइन् । छात्रावास सञ्चालनको ५ वर्षमा ३० जनाले कक्षा १२ उत्तीर्ण गरिसकेका छन् र उनीहरू अहिले गाउँकै विद्यालयमा शिक्षिका छन् । २० जना अध्ययनरत छन् ।
‘१० वर्षमा तालिम प्राप्त १ सय शिक्षिका उत्पादन गरेर गाउँ पठाउने लक्ष्य छ,’ उनले कान्तिपुरसितको छोटो भेटमा भनिन्, ‘यो हाम्रो व्यक्तिगत सहयोग हो । यसलाई निरन्तरता दिन नेपाल सरकार र शिक्षा मन्त्रालयले पनि चासो दिनुपर्छ । सधैं हाम्रो व्यक्तिगत पहल मात्रै सम्भव हुँदैन ।’
तालिम प्राप्त शिक्षिका उत्पादनका लागि सरकारले देशभर चलाएका २० फेडर होस्टलमा कक्षा १२ सम्मका छात्रालाई अवसर दिएर उनीहरूलाई प्राथमिकत तहको शिक्षिक बनाउन सके त्यसबाट नेपालका सामुदायिक विद्यालयलाई नै फाइदा हुने उनको सुझाव छ । ‘विद्यार्थीको बेस प्राथमिक तह हो, यो राम्रो भएन भने राम्रो विद्यार्थी उत्पादन हँुदैन । प्राथमिक तहमा पढाउने शिक्षक सबैभन्दा राम्रो चाहिन्छ,’ साना विद्यार्थीको रुचिअनुसार पढाउने शिक्षक आवश्कयता औंल्याउँदै उनले भनिन्, ‘नेपालमा त्यस्तो छैन । यसले प्राथमिक तहमै विद्यालय छाड्ने विद्यार्थी दर बढी हुन्छ ।’ भौगोलिक, सामाजिक तथा आर्थिक असहजताले तालिम प्राप्तले सीप कक्षाकोठामा प्रयोग गर्न नसकेको पनि उनले बताइन् ।
उनले पछिल्लो तीन दशकमा नेपालमा शैक्षिक चेतना बढे पनि ग्रामीण क्षेत्रमा नेपाली महिला र बालबालिकाको अवस्था नसुध्रेको बताइन् । अहिले वर्षमा चारपल्ट जसो नेपाल आउँछिन् तर जापान बस्दा पनि उनलाई चिन्ता नेपालकै बालिका शिक्षाको हुन्छ । तिनलाई कसरी अवसर दिने भन्नेमै चासो केन्दि्रत हुन्छ । अवकास-जीवनको यो उत्तरार्द्धमा उनी नेपाली बालिका शिक्षाका लागि धपेडीसाथ लागेकी छन् उनी ।
‘अग्ला र सुन्दर हिमाल, पढ्न चाहने तर विद्यालय जान नपाएका केटाकेटीले मलाई तानेका छन्,’ निगाता विश्वविद्यालयका उपाध्यक्षकी श्रीमती बोलिन्, ‘मेरा केटाकेटी छैनन्, नेपालमा सयजना शिक्षिका बनाउन पाए मेरा छोराछोरी तिनै हुनेछन्, जसले अरू सयौंलाई दीक्षित गर्नेछन् ।’ उनलाई स्वागत छ ।

Source: कान्तिपुर दैनिक

Leave a Response