जापान, सुनामी र चित्र (कान्तिपुर दैनिक)

क्योटोको एउटा जेन शैलीको बगैंचा र पुरानो शैलीको घरमा मेरा अमेरिकी साथीहरू एक महिनाका लागि बसेका थिए । सन् १९९७ को कुरा हो । गुनार किताब-कला गर्छन्, बुन्चिङ लाम एक प्रसिद्ध चिनियाँ मूलकी कम्पोजर हुन् । तिनीहरूलाई मैले पहिला इटलीमा भेटेको थिएँ । कोमो ताल क्षेत्र र सहरमा तिनीहरूसँग यात्रा गरेको थिएँ । तिनको सल्लाहलाई अक्षरशः पालना गरी भेनिस र भेरोनाको यात्रा गरेको थिएँ । मैले गुनारको जन्मदिनमा इटलीको आप्रबासमा एउटा कविता लेखेर दिएको थिएँ । तिनलाई मन परेको थियो । ती कुनै दिन मेरो गाउँको अनुभूति भएको कविता काठमा खोपेर गाता-कला बनाउने विचार गर्दै थिए । अहिले पनि उनको विचार बदलेको रहेनछ । लेखेका छन् । गुनार भनेका सन् साठीतिरको सिर्जनात्मक चेतना भएका, केही देब्रे ढल्केका पश्चिमी मुलुकका युवा पुस्ताका मानिस हुन् । त्यो कारणले गर्दा उनको र मेरो मित्रता सहज र गहिरो भयो । पश्चिमी हैकमवादी होइन, मुक्त चेतनाको संस्कृतिलाई लिएर हिँडेका गुनार र मकाओबाट अमेरिकामा संगीत अध्ययन गर्न गएकी चिङको जोडी अत्यन्त कलात्मक र सिर्जनात्मक थियो । चिङलाई पनि मैले सँगै चिनेको थिएँ । उनीहरू नेपाल पनि आए । बिन्दु र म टोकियोबाट उनीहरूकामा केही दिन बस्नका लागि गयौँ । हामीले उनीहरूसँग वरिपरिका पुराना थलोहरूको भ्रमण गरेका बेला गुनारले सुनाएका एकाध कुराले मलाई आज झन् धेरै हल्लाएको छ ।
गुनार पुराना र सांस्कृतिक रूपले प्रसिद्ध कुरा खोजेर गाता-कला बनाउँछन् । एकपटकमा बीसवटा जति गाता-कला बनाउँछन् एउटा आकारको । कसैका केही कविता कागतमा लेख्छन् वा छाप्छन् । अनि त्यो गाता एक चित्रकलाजस्तो महत्त्वपृ्र्ण हुन्छ । त्यसलाई पारखीहरूले कलाजस्तै किनिहाल्ने रहेछन् । गुनारको तिब्बती कविताको त्यस्तो गाता-कलालाई लामले निकै दाम हालेर किनिदिएका रहेछन् । नोबेल पुरस्कार विजेता आयरल्यान्डका कवि सिमस हिनीसँग पनि गुनारले काम गरेका रहेछन् । जापानमा ती यस्तै पुराना कुरा खोज्ने सिलसिलामा क्योटो पुगेका थिए । ती बिहानै लाग्ने हाटमा जानेरहेछन् । त्यहाँ जापानीहरूले बेचेका कुरा देखेर गुनार चकित भएछन् । अति पुराना किमोनो-पहिरनमा प्रयोग भएका महत्त्वपृ्र्ण खण्डहरू पनि त्यो बजारमा पाइने रहेछन् । गुनारले आफूलाई चाहिने मूल्यवान् टुक्राटाक्री अनि केही पुराना पेन्टिङका पि्रन्टहरू पनि त्यो बजारबाट किनेर ल्याए । मैले पहिलोपटक एउटा जापानी पि्रन्टको छापा उनबाट पाएँ । त्यो एउटा सुनामीको चित्र थियो । जापानी चुनामी भन्छन् । त्यो चित्रमा समुद्रको विशाल छाल आकाशमा माथि उठेको छ । माथि गएर फैलिँदा त्यसको शिर शेषनागको जस्तो देखिन्छ । त्यो नीलो, सेतो र केही रातो मिश्रति रङको संयोग भएको चित्र पूरै गतिशील देखिन्छ । अठारौं/उन्नाइसौं शताब्दीका जापानका प्रसिद्ध पेन्टर होकुसाइको चुनामी कला रहेछ त्यो । पछि जापानको पुराना किताब बेच्ने सडक जिम्बोचोमा मैले उनका पेन्टिङको ठूलो पुरानो किताब किन्न पाएँ । होकुसाइका काष्ठछाप चित्रमा समुद्रको छाल प्रधान विषय छ । त्यो गतिशील हुन्छ । जापानीको सरल जीवनको चित्र छ उनका पि्रन्टहरूमा । उन्नाइसौं शताब्दीको पूर्वार्द्धका बेलायती पेन्टर जोन टर्नरका चित्रहरू पनि त्यस्तै किसिमले गतिशील हुन्छन् । तिनमा आँधीको चित्र हुन्छ । समुद्रको प्रकम्पित कलेवर हुन्छ । तर होकुसाइको समर्पणभाव छैन तिनमा ।
मैले होकुसाइका चित्रहरू त्यसपछि जतासुकै देखेँ । जापानीहरूले सुभेनर दिँदा होकुसाइका पि्रन्टको चित्र दिन्छन् । सरकारी कामकाजका विषयमा तयार पारिएका अनेकौं लेखोटमा पनि मैले होकुसाइका चुनामी चित्र देखेँ । जापानीहरूले नै पहिला यो समुद्री उत्तालको चित्रलाई अंकित गरे । उनीहरूले नै यसको प्रहार सबैभन्दा धेरै खपेजस्तो लाग्छ । भुइँचालो जाँदा छचल्किएको पानीको छाल न रहेछ चुनामी । जापान त हल्लिने थालजस्तै हो । भैंचालो जाँदा पनि भित्रै बसिरहनुपर्ने, वास्ता नगरी बस्नुपर्ने कुराले मलाई सुरुमा असहज भएको थियो । एकदिन टोकियो विश्वविद्यालयको एउटा विभागमा सानो भोज भइरहेको थियो । प्राध्यापक हिरोसी इस्सीले दिएको त्यो दिवा भोजमा हामी एसियाली मुलुकका प्राध्यापकहरू थियौँ । अकस्मात् भैंचालो चल्यो । घर कोक्रो हल्लेजस्तो हल्लिन थाल्यो । एकजना युरोपेली महिला भाग्न थालिन् । सबैले उनलाई रोके । भैंचालो गइरहेकै थियो । भोजनमा राखेको अति स्वादिष्ट मानिएको खबटाभित्र सल्बल गरिरहेको शङ्खे किरो चपस्टिकले तानेर त्यो भैंचालोमा जापानी प्राध्यापकहरू खाइरहेका थिए । त्यो भूकम्पप्रति निरपेक्ष तिनका स्वभाव अनि जीवनको सहज गतिको सम्झना मेरो मानसमा बसिरहेकै छ । तर यसपालि मार्च एघारमा ग्ाएकोे भैंचालो आजसम्मकोे सबैभन्दा ठूलोे रहेछ । अनि त्यसले उठाएका चुनामीले हानेको सेन्दाइको निरीह अवस्था र फुकुसिमाका आणविक भट्टी भत्केको भयावह अवस्थाका चित्र र खबर देखेर भने मलाई चुनामी र दुःखलाई सौन्दर्यमा परिणत गरेर हेर्ने जापानी चेतनाको विषयमा सोचिरहन मन लागेको छ । सन् २००४ को चुनामी उठेका बेला मैले जापानीले चुनामीको देवत्वलाई मानिरहको कुरा पढेको थिएँ । मलाई गुनारले दिएको पि्रन्ट चित्रमा होकुसाइले जापानीको त्यो द्वैत मनोचित्र देखाएका छन् । चुनामी एक सौन्दर्य र विनाशको संयोग हो । समुद्रबाट उठेको यो कुनै इच्छाको अभिव्यक्ति हो । यसलाई घृणा र डर होइन, सम्मान र सिर्जनात्मक चुनौतीले वरण गर्नुपर्छ भन्ने जापानी मान्यता छ । यो मानसिकताले काम गर्दा जापानीले विपतका बेला पनि मेहेनत गरेर देश बनाए । अहिले पनि उनीहरूमा त्यही मानसिकता छ भन्ने कुरा देखिन थालेको छ । मेरा बि्रटेनमा सँगै पढेका जापानी साथी त दासीन गाताका मेलमा त्यही कुराको पुनरावृत्ति हुन्छ । मेरा जापानमा भएका मित्रहरूको सम्झनाले मलाई यसपालिको प्रलयपछि धेरै दुःखित बनाएको छ । कतिले मेरा मेल र पत्रका उत्तर दिएका छैनन् । चिन्ता झन् थपिएको छ ।
सेन्दाइमा १९९८ मा म कावागुचीका संग्रहको अध्ययन गर्न इचिबोरी भन्ने साथीसँग गएको थिएँ । त्यो सहरका सम्झना छन् । अहिले त्यो सहरको कुन खण्ड कसरी भत्कियो र ध्वस्त भयो भन्ने कुरा म बुभmन सक्तिनँ तर सेन्दाइको त्यो सुन्दर र मनमोहक परिवेशमाथि भैंचालो र चुनामीको मार एकैचोटि परेको खबरले मलाई दुःखित र दार्शनिक बनाएको छ ।
जापानीहरू मलाई अत्यन्तै असल मानव लागे । पहिलोपटक टोकियो पुगेका बिन्दु र म हरेक दिनजस्तो हराउँथ्यौँ । हरेकपटक अंग्रेजी नबुझे पनि हामीले बाटो बिराएछौँ भनेर थाहा पाएका जापानी नर वा नारी आफ्नै कारमा हामीलाई हालेर डेरा पुर्‍याइदिन्थे । जापानीहरू विनम्र छन्, मायालु छन् अनि सरल छन् । तिनका नगरहरूमा मैले भोगेका क्षणहरूले मलाई अहिले पिरोल्छ । जापानका प्राज्ञिक मानिस, विद्यार्थी, लेखक, कलाकार र साधारण काम गरिबसेका मानिसहरू असल मानव हुन् । मैले कावागुचीको माध्यमले जापानको बीसौँ शताब्दीका वर्षहरूको अध्ययन गरेँ । मैले दोस्रो युद्धपछि जापानलाई बनाउने निकै मानिससँग दोस्ती गरेँ । तिनका कुरा सुनँे । उनीहरू पुलमुनि सुत्थे । नखाने अनेकौँ जलथलचर जन्तु खाए तिनले बाँच्नका निम्ति । अहिले टोकियो सहरबीचको उएनोस्थित एउटा म्युजियमका आँगनमा आधी जलेका ठुटा छन् । त्यो क्षेत्रमाथि पश्चिमी, खासगरी अमेरिकी वम बर्सिंदा जलेको रूखका अवशेष हुन् ती । हिरोसिमामा एटम वमले त्यसै सिध्याएका मानिसका छाया मात्र टक्क छन् । हिरोसिमामाथि वम खसेपछि अनि युद्धमा जापानीले आत्मसमर्पण गरिसकेको अवस्थामा दुई दिनपछि नागासाकीमा एटम वम हान्नु आवश्यक थिएन भन्ने अहिले तर्क उठेका छन् ।
हाइकु कवि बासोको काव्यपथ हेर्दै तिनका सरल कविताभित्रको गम्भीर विषयको अन्तरमनले व्याख्या गर्दै पुगेको सहर सेन्दाइ विदीर्ण भएको र त्यसको नजिकैबाट विकिरण उठेका खबर हेर्दा अनि सुन्दा जापानीले फेरि एकपटक भोगेको भयानक इतिहासलाई पनि तीन हरफको हाइकुमा राख्न सकिन्छ कि सकिँदैन होला भनेर भावुक र विचारले यसै पानी-पानी भएको छु ।

source: ekantipur

Leave a Response