विश्व साइकलयात्रीलाई जापानमा भ्याइ-नभ्याइ (कान्तिपुर दैनिक)
जापान, श्रावण १० – वातावरण संरक्षण र सवैका लागि शिक्षा अभियानसहित विश्व भ्रमणमा निस्किएका साइकलयात्री सौरभ दाहाललाई अहिले जापानमा भ्याइ-नभ्याइ छ ।
उनलाई जापानका दर्जनौं संघ संस्थाहरुले सम्मान गरेका छन् । उनको यो ३६ औं राष्ट्र भ्रमण हो ।
दाहाललाई आइतबार जापानको साकुरा जापानी स्कूलले स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । त्यसअवसरमा उनले नेपालमै बुद्ध जन्मेको र विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको जापानी विद्यार्थीलाई जानकारी दिएका थिए । कार्यक्रममा भ्रमण वर्षकाबारेमा अन्तर्क्रियासमेत भएको उनले जानकारी दिएका छन् । उनी राजधानी टोकियोबाट तीन घण्टा लामो हवाई यात्रा गरी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका हुन् ।
दाहालले फुकोकामा अध्यनरत नेपाली नेपाली विद्यार्थी हरुलाई भेला पारी नेपाल पर्यटन वर्षको लोगो र गौतम बुद्धको ब्यानरसहित फुकोका सिटी साइकल र्याली निकालेका थिए । ‘यातायात भाडा महंगो रहेछ,’ उनले आफ्नो अनुभव सुनाए, ‘धेरै टाढा टाढा कार्यक्रममा बोलाइएको छ ।’
दाहाललाई यसअघि एमाले निकट लोकतान्त्रिक संगठनले सम्मान गरेको थियो । उनी थप कार्यक्रममा भाग लिन मंगलबार नै राजधानी टोकियो आइपुगेका छन् । २५ दिनको जापान यात्रा पूरा गरी दाहाल बेलायत जाने कार्यक्रम छ ।
स्रोत : कान्तिपुर दैनिक
