जापानमा आँधीबाट १९ को मृत्यु(कान्तिपुर दैनिक)
टोकियो (एएफपी), भाद्र १९ – पश्चिमी जापानमा भारी वर्षापछि आएको शक्तिशाली आँधीबेहरीमा परी कम्तीमा १९ जनाको ज्यान गएको छ । ४१ जना बेपत्ता छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् ।सञ्चार माध्यमहरूले करिब सय जना घाइते भएको जनाएका छन् । अन्य व्यक्तिहरू पनि हराइरहेको हुन सक्ने जनाउँदै आँधीको खतरा नाघिसकेकाले खोजी एवं उद्धारकार्य गर्न नसकिएको सुरक्षा एवं उद्धारकर्मीले जानकारी दिएका छन् ।शक्तिशाली आँधी जापानको उत्तरी क्षेत्रबाट समुद्री तट हुँदै आइतबार पूर्वतर्फ आइपुगेको बताइएको छ । जापानको जलवायु अध्ययन संस्थाले प्रतिघन्टा १०८ किलोमिटरको दरले आएको आँधीको खतरा नघटिसकेको जनाएको छ । आँधीको सबैभन्दा नराम्रो प्रभाव वाकानावा जिल्लामा परेको छ । जापानी सुरक्षा अधिकारीका अनुसार उक्त ज्ािल्लामा मात्रै कम्तीमा १० जनाको ज्यान गएको छ भने ३२ जना हराइरहेका छन् । क्योदो समाचार संस्थाका अनुसार पूर्वी र मध्य जापानका केही भागका करिब ४ लाख ६० हजार जनालाई सरकारले अन्यत्र बसाइँ सर्न भनेको छ ।
Source : कान्तिपुर दैनिक
