देउभूमि बालुवा -काभ्रे, कार्तिक २ -
जापानीले यहाँको एक प्राथमिक विद्यालय भूकम्प र ताप प्रतिरोधात्मक भवन बनाइदिएका छन् ।बालुवा ८ नयाँगाउँमा लबगि्रन संस्थाको पहलमा जापानी संस्था एफआईडीईले राधाकृष्ण प्राविको पक्की भवन बनाएको हो । विद्यालयको आफ्नै भवन नहुँदा स्थानीय उपभोक्ताको कच्च्ाीघर भाडामा लिएर पठनपाठन गर्नुपरेको थियो ।
‘भवन नहुँदा छोराछोरी पढाउन हामीलाई धेरै समस्या थियो,’ स्थानीय अभिभावक पदमनारायण तिमल्सिनाले भने, ‘विद्यालय भवन बनाउन धेरै ठाउँमा धाए पनि हाम्रो कुरा कसैले सुनेको थिएन ।’बिरामी भई थला पर्दासमेत भवन हेर्न अरूको सहारामा आएका यी ७४ वषर्ीयले भने, ‘यहाँको जस्तो भवन पाँचखालमा अन्त छैन ।’
एक कार्यक्रमबीच बुधबार जापानी पूर्वराजदूत जेन्जी कामीनागाले नवनिर्मित भवन समुदायलाई हस्तान्तरण गरे । यो जापानका विद्यायल भवनजस्तै आकार प्रकारमा बनाएको छ । एकै किसिमका तीन ब्लक र छ कक्षाकोठा छन् ।शौचालय, खानेपानी बारबन्देज सहित पर्याप्त शैक्षिक सामान पनि भवनमा उपलब्ध गराएका छन् । व्यवस्थापन समिति सदस्य सीताराम दाहालका अनुसार भवनको कुल लागत ४९ लाख ४१ हजार रहेकामा एफआईडीईले ४२ लाख ७५ हजार, गाविसबाट ३ लाख ३० हजार, अभिभावकबाट चन्दा १ लाख २२ हजार र स्थानीय बासिन्दाको २ लाख १३ हजार बराबरको श्रमदान लागेको छ ।
‘अब हाम्रा बालबालिकाले प्राथमिक तहको स्तरीय शिक्षा सहजै पाउने भएँ,’ उनले भने, ‘शिक्षाले एउटा राहत कोटाबाहेक अरू केही दिएको छैन । शिक्षकहरूलाई तलब खुवाउने काममा पनि जापानीले सहयोग गरिरहेका छन् ।’ विद्यार्थी अनुपातमा शिक्षक संख्या कम भएकाले थप्ने व्यवस्था मिलाइदिन उनले जिल्ला शिक्षा अधिकारी रामशरण सापकोटालाई आग्रहसमेत गरे ।विकासोन्मुख देशको शैक्षिक अवस्था सुधार गर्न आफूहरूले भवन निर्माण गरिदिएको कामीनागाले बताए । ‘नेपालको शैक्षिक अवस्था सुधार गर्न जापानी सहयोग गर्न तयार छौं,’ उनले भने
स्रोत : कान्तिपुर दैनिक




